Registration No: 339/2073/74
Social Welfare Council Affiliation No: 44584

मानव र प्रकृतिको सम्बन्ध सुमधुर बनाउन संरक्षणमा चासो राखौ ।

महेश अवस्थी, बैतडी

छिमेकी मुलुक चीनको वुहान प्रान्तबाट सुरुवात भई विश्वभरको नियमित क्रियाकलापलाई असर पारिरहेको समयमा जीवजन्तु पनि मानिसका कारण चपेटामा परेका छन् । दुईवटा तराई र सातवटा पहाडी जिल्ला गरि नौवटा जिल्ला रहेको नेपालको कुल क्षेत्रफलको १३.२७% अर्थात १९,५३९ वर्ग कि.मि. क्षेत्रफल ओगटेको सुदुरपश्चिम प्रदेशमा पनि विभिन्न क्रियाकलापले प्रभावित हुन पुगेको छ । संरक्षणमा लागेका निकाय तथा निकायहरुको सक्रियता घटेको मौका छोपी संरक्षणलाई प्रतिकुल असर पार्ने तत्वहरु सक्रिय भएको पाइएको छ । बन्दाबन्दिको मौका छोपी तराईका भूभाग (कैलालीको गोदावरी नगरपालिका र कंचनपुरको लालझाडी गाउँपालिका) साथसाथै  अन्य पहाडी नगरपालिका र गाउँपालिकाका वनजन्य श्रोतहरुको दोहन बढेको छ जसका कारण वन फडानी बढेको छ। पहाडी जिल्लाहरु बैतडी, बझाङ र दार्चुलामा सामुदायिक वनहरु बिच द्वन्द बढेको छ जसका कारण जडिबुटी संकलनलाई नियमन गर्न नसक्दा त्यी क्षेत्रमा अबैध वन फडानी संगै बहुमुल्य जटिबुटीको बेचबिखन दिनप्रतिदिन बढिरहेको स्थानीय सञ्चार माध्यममा समाचारहरु आइरहेका छन् । विशेषगरी  बिहान र बेलुकाको समयमा पहाडी जिल्लाहरुमा बन्दाबन्दिको मौका छोपी वनजंगलमा पसेर अबैध रुपमा सिकारीहरुले घरेलु हतियार प्रयोग गरि बँदेल, थार, घोरल, रतुवा, कालिज र डाँफे लगायतका जनावरको सिकार बढेको छ ।  चोरी-सिकारी बढ्नाले त्यी क्षेत्रमा प्रशस्तै पाइने जंगली जनावर र पन्छीहरुको सङ्ख्या घटेको छ । केही दिन अगाडि मात्रै  सुदुरपश्चिम प्रदेशको एक प्रमुख नदी सेतीमा डोटी जिल्लाको नारिदाङ भन्ने ठाउँमा के.आई.सिंह गाउपालिकाका स्थानीयले गौच थिड नामको माछा बल्छिमा पारेका थिए । यस विषम परिस्थितिमा अत्यधिक  वनजङल फडानी गर्नाले जैविक विविधता संरक्षणको सट्टा अवैध कार्यमा स्थानीयहरु लागिरहेको पुष्टि हुन्छ । अत्यधिक वन फडानीले गर्दा पानीका मुहानहरु सुक्न गई यस क्षेत्रका चमेलिया, बुढीगंगा, सुर्नया, ढिकगाड, रंगुन, मोहना र बानरा लगायतका सहायक नदीहरुमा पानीको वहावमा प्रभाव पर्ने अनुमान गर्न सकिन्छ ।  पहाडी जिल्लाहरुमा अत्यधिक वनफडानी, डढेलो र अवैध हतियार प्रयोगले दुम्सी, बाँदरका साथै जङ्गलबाट गाउँघर पसेर गाउँनै गुञ्ज्यामान हुनेगरि कराउने स्यालहरु हिजोआज अत्यधिक कम मात्रामा देखिन थालेका छन् । जसले गर्दा स्यालनै लोपोन्मुख जनावर भित्र पर्छकी  भन्ने आशंका गर्न सकिन्छ । 

विश्व सम्पदा सुचिमा सुचिकृत सिमसार छेत्रको रुपमा परिचीत कैलालीको घोडाघोडी ताल, कंचनपुर जिल्लामा रहेका बेतकोट ताल र झिलमिला ताल, डडेलधुराको आलिताल र डोटी जिल्लाको छतिवन ताल लगायत अन्य तालहरुमा मान्छेको आवतजावत प्रायः शून्य जस्तै भएकाले जथाभावी रुपमा फालिने फोहोरमैला कम हुँदा यि तालक्षेत्रमा पाईने गोही, माछा तथा चराचुरुंगीमा भने सकारात्मक प्रभाव परेको अनुमान गर्न सकिन्छ ।नेपालका संरक्षित क्षेत्रहरु मध्ये शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज, खप्तड राष्ट्रिय निकुञ्ज र अपि-नम्पा संरक्षण क्षेत्र सुदुरपश्चिम प्रदेशमा पर्दछन् । भारतको उडिसा र राजस्थान पछि पहिलो पटक शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा "भाइन स्नेक" प्रजातिको लहरे सर्प साथै चार प्रजातिका उभयचर र चौध प्रजातिका सरिसृप थपिनु तथा नेपालमै सबैभन्दा उचाइको स्थानमा डडेल्धुरा जिल्लामा पाटेबाघ भेटिनु यस क्षेत्रको संरक्षणमा उपलब्धि हो । बैतडीको तल्लोसोराडमा चौबीस जनाजति बालबालिकाको ज्यान लिएको चितुवालाई सुरक्षित साथ नियन्त्रणमा लिएर चितवन  राष्ट्रिय निकुञ्जमा स्थान्तरण गर्दा स्थानीय बासिन्दा संरक्षणप्रति सकारात्मक हुन सक्छन् । बस्ति नजिक पाइने तित्रा, गौथली, चमेरा, काग, बाज, ढुकुर, चील, भंगेरा, सुगा, लामपुच्छ्रे, उल्लु, गिद्ध, कोइली र काठफोरा जस्ता  पंक्षीहरुको सङ्ख्यामा वृद्धि हुनुलाई पनि वन्यजन्तुको क्षेत्रको सकारात्मक पक्ष अर्थात उपलब्धिको रुपमा लिन सकिन्छ । 

संरक्षणको क्षेत्रमा सकारात्मक उपलब्धि देखिन थालेको बेलामा अवैध र गैरजिम्मेवार गतिविधि बढ्नु अत्यन्तै दु:खद कुरा हो । यदि हामी जनता आफै सचेत नहुने र स्थानीय, प्रादेशिक र सङ्घीय सरकारले अवैध कार्य निर्मुलीकरणमा जोड नदिने हो भने अवैध रुपमा हुने वनजङल फडानी, काठ तस्करी र चोरीनिकासीले वनको विनास हुनका साथै वन्यजन्तुमा प्रत्यक्ष असर पर्ने र संरक्षणका क्षेत्रमा देखिन थालेका उपलब्धिहरु गुम्ने खतरा हुन्छ ।  वन्यजन्तु र वनजङल हाम्रो सौन्दर्यको स्रोत हुन्, प्रतिक हुन्,  सम्पत्ति हुन्,  पृथ्वीलाई सन्तुलनमा राख्ने अवयव हुन् साथै हाम्रो आधारभुत आवश्यकता परिपुर्ति गर्ने माध्यम पनि हुन् । मानव र प्रकृति बीचको सम्बन्ध सन्तुलनमा राख्न  सकेमात्र पृथ्वीमा मानवको  सदाका लागी रहन्छ । सबैले  आ-आफ्नो क्षेत्रमा प्रकृति अनुकुलका क्रियाकलाप गरे यो समयमा मानव जगतले भोगिरहेको जस्तो समस्याबाट टाढा रहन सकिन्छ ।

(लेखक त्रिभुवन विश्वविध्यालय वातावरण विज्ञान केन्द्रिय विभागमा अध्ययनरत विद्यार्थी हुन् )